आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम
गरी मनाइँदै छ । २००७
सालको फागुन ७ गते एकतन्त्रीय
जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको
सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना
भएको थियो । यसैको जगमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।
यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय
लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।
दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी
कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले
पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ ।
यसैबीच, दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी
भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख
अग्निप्रसाद सापकोटालगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले समृद्धिका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रलाई
नागरिकको जीवनसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले लोकतान्त्रिक प्रणालीले
मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताउनुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र दिवसले देशको भौगोलिक
अखण्डता,
राष्ट्रिय स्वाधीनता र नेपाली नागरिकको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै विकास र समृद्धिको मार्गमा
अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक जगमा
प्राप्त सफलतामा टेकेर देशमा सङ्घीय, लोकतान्त्रिक
गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख गर्नुभएको छ । यस्तै
सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको
दायित्व सबैको भएको बताउनुभएको छ । ७२औँ प्रजातन्त्र दिवसका अवसरमा विभिन्न दलका
शीर्ष नेताहरुले पनि शुभकामना व्यक्त गरेका छन् ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी
भण्डारीले ५ सय १ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको छ ।
0 Comments